देशको अवस्था अधोगतितर्फ : शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको भएको उनले उल्लेख गरे । उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ भन्ने सकारात्मक सोचका साथ लाग्न जरुरी रहेकामा जोड दिए ।
नेता कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको धारणा राखे ।
‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ’, उनले भने, ‘घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौँ ।’ सांसद कोइरालाले सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार लाग्नुपर्ने बताए । शिक्षामा पहिलो जोड दिनुपर्ने उनको भनाइ थियो ।