दुई खेल जितेको नेपाल आज पाकिस्तानी टोलीसँग भिड्दै

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ । सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरू हुनेछ ।
जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । शुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्ने छन् । टप एण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ ।
दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्ट २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ ।
अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अष्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अष्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अष्ट्रेलियासँगै खेल्नेछ ।
नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् । अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।