समाजवादी क्रान्तिका लागि अब तयारी गर्नुपर्छ : प्रचण्ड


२०८२ भदौ ५ बिहीबार १७:२३ बजे

कास्की । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको ‘वैचारिक तथा राजनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेका बताए ।

‘मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ । समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नु पर्दछ’, अध्यक्ष प्रचण्डले भने । समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

उनले भने, ‘सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ । समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढङ्गले अघि बढाउने उद्देश्य छ ।’

अध्यक्ष प्रचण्डले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेता–कार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुनुपर्नेमा जोड दिए ।अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने उल्लेख गरे ।

‘पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारवाही गरिनेछ । स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो । पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन’, अध्यक्ष प्रचण्डले भने । आसन्न केन्द्रीय समिति बैठकपछि गाउँगाउँमा संगठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिइने जानकारी दिए ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्ज रामदीप आचार्य, महासंघ गण्डकीका संयोजक रुद्र गौतमलगायत नेता तथा कार्यकर्ताले राजनीतिक परिर्वतनमा मजदुरको भूमिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७