‘ठूला दलहरूले नै संविधानमाथि प्रश्न उठाए : पूर्व राष्ट्रपति भण्डारी
‘जिम्मेवारी दिइयोस् नदिइयोस्, संघर्ष गरिरहन्छु’

काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको टिप्पणी गरेकी छन् । मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद नै निरीह थलो बनेर बसिरहेको बताइन् ।
उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन ।
भण्डारीले संसद्को ध्यान कानुन निर्माणमा जान नसकेको बताइन् । भण्डारीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई निलम्बन गरिएकोप्रति आपत्ति समेत जनाइन् । उनले आरोप लागेकै भरमा निलम्बन गर्न नहुने बताइन् ।
‘आरोप लगायो भन्दैमा निलम्बन हुने कहाँको लोकतन्त्र हो ? संसद्का ठूलै दलका नेता निलम्बनको यात्रा भोगिरहेका छन्’ उनले भने । अर्को प्रसंगमा उनले ‘खुट्टाले टेकेर हिँड्नु पर्ने अर्थतन्त्र टाउकोले टेकेको’ टिप्पणी गरिन् ।
‘जिम्मेवारी दिइयोस् नदिइयोस्, संघर्ष गरिरहन्छु’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने बताएकी छन् । उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि दिएकी छन् ।
‘मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो । म अझै पनि एमालेकै कार्यकर्ता हुँ’, उनले भनिन् । राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचना बाहिर नरहेको बताइन् । ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उनले भनिन् ।
उनले २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु । चन्द्र–सूर्य रहुन्जेल म सक्रिय रहन्छु,’ भण्डारीले भनेकी छन् ।