प्रचण्डको विकल्पमा उभिएनन् माओवादी नेताहरु, बोलेनन् जनार्दन

राम कार्कीको प्रस्ताव : अध्यक्ष सम्मानित भएर बस्ने, रोटेशनमा नेतृत्व विकास


२०८२ श्रावण १७ शनिबार २१:५१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पक्षमा धारणा राखेका छन् । शुक्रबारबाट सुरू भएको बैठकमा प्रस्तुत सात एजेण्डामाथि शनिबार २५ जना सदस्यहरूले धारणा राखेका छन् ।

शनिबार बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरूले अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेको एक सदस्यले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झण्डै चार दशकदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । 

अझै पनि माओवादीका नेताहरूले प्रचण्डको विकल्प खोज्न सकेका छैनन् । बरू उनलाई नै थप बलियो बनाउनेमा पार्टीभित्र बहस सुरू भएको छ । आगामी वैशाखसम्म महाधिवेशन गर्ने तयारी माओवादी केन्द्रको छ । 

अध्यक्ष प्रचण्डले अब खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने बताइरहँदा नेताहरूले भने विकल्प तयार नभएको बताएका छन् । अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर केही आलोचना भए पनि अन्तरद्वन्द्व समाधान गरेर उनलाई नै निर्विकल्प बनाउने कसरत पुनः सुरू भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै ३८ वर्षदेखि एकछत्र नेतृत्व गरिरहेका छन् । टुटफुटको शृङ्खलाबाट अघि बढ्दै आएको माओवादी केन्द्र अहिले फेरि अन्तर संघर्षमा रूमलिएको छ । 

प्रचण्डले पार्टीमा एकलौटी गरेको र अरूका कुरा सुन्दै नसुनेको मात्र होइन, आलोचकलाई अघि बढ्नै नदिने रणनीति अपनाएको आरोप उपमहासचिव जनार्दन शर्माले लगाएका छन् । तर प्रचण्डले शर्माप्रति लक्षित गर्दै बर्जुवा अभिव्यक्ति नदिन चेतावनी दिएपछि अरू नेता चुपचाप भएका छन् ।

त्यसो त माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिन खोज्नेहरू बाहिरिँदै गएका छन् । बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्दलगायतका कयौं नेता प्रचण्डका सामु टिक्न नसकेर अलग हुनुपरेको थियो । 

माओवादी केन्द्रबाट धेरै नेता बाहिरिइसकेको अवस्थामा दाहालको कार्यशैलीलाई अहिले उपमहासचिव शर्माले चुनौती दिन खोजेका हुन् । नेतृत्व चयन भने खुल्ला प्रतिस्पर्धाबाटै हुने नेताहरुको जिकीर छ ।

झण्डै एक वर्षपछि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टीभित्र देखिएका केही अन्तरविरोधमा बहस भइरहेको छ । अधिकांश नेताहरूले अन्तरविरोध हुने गतिविधि बन्द गर्नुपर्ने सुझाव दिएका छन् । यसले अध्यक्ष प्रचण्डको आलोचना गर्ने उपमहासचिव शर्मा कमजोर देखिएका छन् ।  

माओवादी केन्द्रले पार्टी महाधिवेशन पनि आगामी वैशाखसम्म गर्ने तयारी गरेको छ । जुन महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । सर्वसम्मत नेतृत्व चयन गर्दै आएको माओवादीले अब प्रतिस्पर्धा गराउने बताउँदै आएको छ । तर अध्यक्ष प्रचण्डले अहिलेदेखि नै पार्टीभित्रका आफ्ना आलोचकहरूलाई पाखा लगाउने र अन्य कम्युनिस्ट घटकहरूसँग एकता गरेर आफू थप बलियो बन्ने रणनीति बनाइरहेका छन् । आजको बैठकमा सचिव राम कार्कीले भने बोल्ने स्थायी कमिटी सदस्यहरूभन्दा भिन्न मत राखेका थिए । उनले नेतृत्वले आफैतिर फर्किएर हेर्नुपर्ने बताए ।

‘उहाँले घुमाउरो शैलीले जनार्दन शर्माले अघि सारिरहेको दृष्टिकोणलाई सघाउ पुग्ने गरी बोल्नुभयो । उहाँले अध्यक्ष प्रचण्डले आफूतिर पनि फर्किएर हेर्नुपर्ने धारणा राख्नुभयो,’ माओवादी केन्द्रका एक नेताले भने ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भिजिट भिसा प्रकरणमा सरकारसँग पार्टीले दुई बुँदे सहमति गर्दा नराकात्मक सन्देश गएकोबारे पनि बैठकमा कुरा उठेको बताए । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले नेतृत्व हस्तान्तरणबारे फरक प्रस्ताव प्रस्तुत गरेका छन् । स्थायी कमिटी बैठकमा शनिबार बोलेका सचिव कार्कीले नेतृत्व हस्तान्तरणबारे नयाँ विकल्पमा जान सकिने बताएका हुन् ।

‘संसारभर नै कम्युनिष्ट हरुमा नेतृत्व हस्तान्तरण समस्या बनेको छ । लेनिनको पनि राम्रो भएन । माओको पनि राम्रो भएन’, उनले भने, ‘मेरो सुझाव छ– अध्यक्ष स्वस्थ्य हुँदैमा हामीले एउटा तिथिको विकास गरेर जाऔं ।’

कार्कीले राखेको प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पद जाने छैन । तर प्रचण्ड सम्मानित भूमिकामा बस्नुपर्ने हुन्छ । ‘अध्यक्ष सम्मानित भएर बस्ने, अनि रोटेशनमा नेतृत्व विकास गर्ने’ कार्कीको सुझाव छ, ‘रोटेशनमा आउने व्यक्तिलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिनुपर्छ ।’

यदि रोटेशनमा आउने व्यक्तिले राम्रोसँग पार्टी चलाउन सकेन भने त्यसको विकल्पमा जान प्रचण्डले सक्ने कार्कीले तर्क गरेका छन् । ‘कार्यकारी अधिकार पाएकाले राम्रो चलाउन सकेन भने त तपाईं तान्न सकिहाल्नु हुन्छ नि’, सचिव कार्कीले भने ।

‘यसबीमा माओवादी केन्द्रले सञ्चालन गरेको अभियानले पार्टीप्रति आकर्षण पैदा गरेको थियो । माओवादी सुशासनको पक्षमा छ है भन्ने सन्देश पनि गएको थियो । तर भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गर्नाले नकारात्मक असर परेकोबारे पनि कुरा उठ्यो,’ गजुरेलले भने ।

उनले पनि बैठकमा नेतृत्वविरूद्ध सार्वजनिक ढंगले टिप्पणी गर्ने, कमजोर बनाउने गरी अभिव्यक्ति आइरहेको भन्दै त्यसप्रति आत्मालोचित हुन सदस्यहरूले सुझाव दिएको बताए । ‘अध्यक्षले शुक्रबार बैठक सुरू गर्दै पार्टीभित्र स्वार्थ समूह र गुटबन्दी हाबी भएको भन्दै ती सबै स्थार्थ समूह र गुटहरू विघटन गर्न प्रस्ताव गर्नुभएको थियो । अध्यक्षको प्रस्ताव जायज हो भनेर धेरै सदस्यहरूले धारणा राख्नुभएको छ,’ उनले भने ।

आज (शनिबार) को बैठकमा वर्षमान पुन, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, ओनसरी घर्ती, राम कार्की, मातृका यादव, जयपुरी घर्ती, कमला रोक्का, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, कुलप्रसाद केसी, महेश्वर गहतराज, अमृता थापा, अञ्जना विशंखे, शशी श्रेष्ठ, सत्य पहाडी, अमृता थापामगर, जोखबहादुर महरा,  लगायत २५ जनाले धारणा राखेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७