सिन्धुली घटना : यी हुन् आमा उर्मिलासहित बेपत्ता एकै परिवारका १६ जना (सूचीसहित)
तीन वर्षअघि हराएका थिए उर्मिलाका श्रीमान, जंगलमा भेटिएको थियो हाडखोर

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना एकाएक गाउँबाट बेपत्ता भएपछि खोजी तीब्र बनाइएको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले बताए ।
बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नातिनी र एक जना ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।
यस्तै छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलिसकेको छैन । उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सामा केहि दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षति नभएको प्रहरीको भनाई छ । घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा खोजी गर्दा उनीहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तीन वर्षअघि हराएका थिए उर्मिलाका श्रीमान, जंगलमा भेटिएको थियो हाडखोर
सिन्धुलीको गोलन्जर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको मुख्य सदस्य पनि तीन वर्षअघि बेपत्ता भएको पाइएको छ । परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले जानकारी दिएका छन् ।
खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर नजिकैको जंगलमा भेटिएको स्थानीय शिक्षक सुमन कोइरालाले जानकारी दिए । हायू परिवारले वडा कार्यालयबाट एकै पटक तीन महिनाको सीमान्तीकृत भत्ता बुझेको पाइएको पनि कोइरालाले बताए ।
‘साउन लागेपछि सीमान्तीकृत भत्तासम्बन्धी कार्ड नवीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि वडा कार्यालय गएका उनीहरुले यी १६ जनासहित बाहिर भएका दुई जनाको समेत भत्ता लिएको खुलेको छ,’ उनले भने । उनीहरुले तीन महिनाको भत्ता करिब दुई लाख १६ हजार एकै पटक बुझेको पाइएको उनले जानकारी दिए । सम्पर्कविहीन हुनुअघि उनीहरुले सुँगुर काटेर भोज खाएको समेत पाइएको छ ।