भेटेको १५ दिनमै प्रेम, अर्कोसँग बोलेको रिसले याचनाकाे हत्या


२०८२ श्रावण १७ शनिबार १७:५६ बजे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको छ ।

आज (शनिबार) बिहान बौनिया बजारस्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरको भान्छामा चक्कु प्रहारबाट सेजुवालको हत्या भएको थियो । हत्या आरोपमा सोही होटलका कुक, बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउदलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा प्रेम सम्बन्धमा विवाद हुँदा हत्या गरेको बताएका छन् । 

सेजुवाल १५ दिनअघि मात्रै वेटरका रूपमा सो होटलमा काम गर्न पुगेको पाइएको प्रहरीले जनाएको छ । कामकै क्रममा उनी साउदसँग नजिक भइन् । दुई सन्तानका बुवा तथा पूर्व पत्नीबाट अलग भइसकेका साउद र सेजुवालबीच छोटो समयमा प्रेम सम्बन्ध बनेको थियो । शनिबार बिहान भान्छामा काम गर्ने क्रममा उनीहरूबीच विवाद भयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विवादकै क्रममा साउदले नजिकैको चक्कु लिएर सेजुवालको घाँटीमा हानेका थिए । कैलाली प्रहरीका डीएसपी राजकुमार सिंहले भने, ‘दुवै जना भान्छामा रहेका बेला विवाद भयो । त्यसैबीच साउदले चक्कु प्रहार गर्दा किशोरी घटनास्थलमै ढलिन् । काउन्टरमा रहेका होटल सञ्चालकले त्यसपछि मात्र थाहा पाएको पाइयो।’

गम्भीर घाइते सेजुवाललाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरे । हत्या आरोपमा पक्राउ परेका साउदले प्रहरी समक्ष, ‘विवाह गर्ने सहमति भइसकेको थियो तर उनी अरु केटासँग पनि फोनमा कुरा गर्थिन् ।

सोध्दा विवाद भयो र रिसको झोकमा चक्कु प्रहार गरें’, भन्ने बयान दिएका छन् । हाल साउद इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा छन् भने मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७