सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्यो : भीम रावल

काठमाडौं । पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले सरकारले विदेशी सेना नेपाल आउने बाटो खोलिरहेको आरोप लगाएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफै गर्नु भन्ने कानून पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाए ।
उनले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने टिप्पणी गरे । नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै उनले आपत्ति जनाएका छन् । वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘एउटा कानून आएको सुनें । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो कि नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खिर खान दिन्छ । संसदबाट एउटा कानून पारित भयो । बनायो कानून, त्यहाँ बसेकाहरूले । अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खालि राख्ने रे । यो देशलाई कहाँ लैजान लाग्या हो ? दिनेबेला वंशजको नागरिकता भन्ने बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? यस्तो राजनीति गरेपछि खिर खाने दिन धेरै रहँदैन ।’
पूर्व उपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने ? भन्दै प्रश्न गरेका छन् ।