माधवलाई झलनाथको जवाफ : मैले होइन, तपाईले  पार्टी छाडेर हिँडे हुन्छ

‘कसैले माग्दैमा खुरुक्क राजीनामा दिन्नँ’


२०८२ श्रावण १७ शनिबार १७:२१ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालबाट पार्टी छाड भन्ने अभिव्यक्ति आउँला भन्ने आफूले कल्पना पनि नगरेको बताएका छन् ।

अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि पत्रकार सम्मेलन गरेर आफूले बोलेको विषयले पार्टीलाई असर गरेको भए पार्टी बैठक बोलाउन माग गरेका छन् ।

उनले भने, ‘उहाँले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनु भएछ । उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ । नेताले छाड्छ । यही हो पार्टीको नेताको हैसियत ? मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लोस्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ ।’

नेता खनालले कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने बताएका छन् । ‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ 

नेता खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्ने समेत बताए । ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छैन, पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफै बाटो लागे हुन्छ तर झलनाथ खनालले त्यस्तो काम जान्दैन’, खनालको भनाइ छ । 

नेकपा एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै खनालले एक टेलिभिजनमा अन्तरवार्ता दिएपछि अध्यक्ष माधव नेपालले यदि त्यसो भए खनालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । खनालले नेपाललाई जवाफ फर्काउँदै नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

त्यसपछि दुई नेताबीचको खटपट सतहमा आएको थियो । नेता खनालले माधव नेपालमा जस्तोसुकै सरकारमा जहिले पनि सहभागी हुने, वर्गीय हित विपरितका सरकारमा सहभागी भएर  आत्मसमर्पण गर्ने, चुनावमा पनि कांग्रेस लगायतसँग साँठगाँठ गर्दा समस्या भएको बताए । उनले पार्टीमा आफूले वैज्ञानिक समाजवादको विचार अघि सारे पनि त्यो विचार र दृष्टिकोण नै पार्टीले सार्वजनिक नगरेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७