एमालेको फोनले रोकियो बागमतीका नव नियुक्त तीन मन्त्रीको शपथ

हेटौंडा । बागमती प्रदेश सरकारका नव नियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज (बुधबार) बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नव नियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।
नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा रोकिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेका थिए । मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने उनले बताएका छन् । एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।