बागमतीका मुख्यमन्त्री लामाले राखे शर्त, कहिले दिने भए राजीनामा ?


२०८२ श्रावण १७ शनिबार १६:०७ बजे

हेटौँडा । सम्भवतः हिजै पद छाड्ने बताएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पछि सरेको छ । लामाले भोलि (आइतबार) मात्र राजीनामा दिने भएका छन् ।

लामाले राखेको शर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका हुन् । सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए ।

‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । सभापति ज्यू र इन्द्रजीले सहमति जनाउनु भयो,’ चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’ बागमती प्रदेशसभामा कांग्रेसबाट ३७ सांसद छन् । जसमध्ये गत शुक्रबार २१ सांसदले मुख्यमन्त्री रहेका तत्कालीन दलका नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि नयाँ दल नेता चयन गर्न गत बुधबार चुनाव हुँदा बानियाँ विजयी भए भने मुख्यमन्त्री लामा हारे । यसपछि मुख्यमन्त्री लामालाई पद छाड्न आफ्नै दलबाट चर्को दबाब आयो । यही क्रममा पार्टी सभापति देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएका हुन् । 

अब उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार ढल्नेछ । सोपश्चात् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनेछन् । यसपछि अन्य मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने छ । बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ ।

आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उनले स्पष्ट पारे । मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो । 

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताए ।

मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज भएका छैनन्। मूत्र थैलीमा संक्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७