काठमाडौंमा मालिकले गरे आफ्नै कामदारको हत्या

काठमाडौं । काठमाडौंमा आफ्नै मालिकबाट एक कामदारको हत्या भएको छ । काठमाडौंमा एक सुन व्यवसायीले आफ्नै पसलमा काम गर्ने भारतीय कालिगढको हत्या गरेका हुन् ।
नुवाकोट ककनी घर भई गल्कुपाखा बस्ने ४२ वर्षीय श्याम कालिकोटेले भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या गरेका हुन् । कालिकोटेले काठमाडौं महानगरपालिका–२५ न्ह्योखास्थित एक घरमा बुधबार बिहान करिब २ः४५ बजेतिर उनको हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
कालिकोटेलाई प्रहरीले नयाँ बसपार्कस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा दुवै जनाले मादक पदार्थ सेवन गरेको र त्यसपछि विवाद हुँदा हत्यासम्मको घटना भएको देखिएको छ । कालिकोटेले सामान्य विवादमा हत्याको घटना हुन गएको प्रहरीमा बयान दिएका छन् । दुवै जना सँगै मदिरा पिएर पालको कोठामा सुत्न भनेर गएका थिए ।
आफू मालिक भए पनि पालले त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बयान दिएका छन् । ‘मलाई अपमान गर्यो, मालिकको व्यवहार गरेन । त्यसपछि विवाद हुँदा घटना भयो भनेर बयान दिएका छन् । थप अनुसन्धान भइरहेको छ’, एसपी आचार्यले भने । विवाद भएपछि सुन बनाउन प्रयोग हुने हम्मरले प्रहार गरेर हत्या गरेको आरोपीले बयान दिएका प्रहरीले जनाएको छ ।