व्यक्तिगत कुरालाई लिएर पार्टीभित्र असमझदारी बढाउनु हुँदैन : मन्त्री राणा

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन् । नेपाली कांग्रेस कास्कीद्वारा बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी संगठनभित्र एकआपसमा स्वच्छ प्रतिस्पर्धा हुने भए पनि यही प्रतिस्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताएकी हुन् ।
‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो’, उनले भने । कांग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उनीहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न रहेको बताइन् ।
‘उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँहरूले देखाउनु भएको मार्गदर्शनमा कांग्रेस पार्टी हिँड्नु एकदमै जरुरी छ’, उनले भनिन्, ‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।’
पार्टीको आसन्न १५औं महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाइ एकढिक्का भएर पार्टी झन् बलियो र सुदृढ हुने विश्वास व्यक्त गरिन् । नयाँ दलले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसङ्ग उल्लेख गर्दै देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राखिन् ।
पछिल्लो समयमा ‘देशमा केही भएको छैन’ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उनले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु सबैको दायित्व भएको बताइन् ।