डिङ्गरनगर सहकारीमा १२ करोड हिनामिना, अध्यक्ष र सचिवले चलाए आफूखुशी ८० करोड

२५ करोड नियमविपरीत लगानी


२०८२ श्रावण १५ बिहीबार १३:५३ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको १२ करोड रकम हिनामिना भएको पुष्टि भएको छ ।  तिलोत्तमास्थित सहकारीको बचत अपचलनका सन्दर्भमा गठित स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदनले १२ करोड हिनामिना तथा करिब २५ करोड नियम विपरीत लगानी गरेको देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सहकारीबाट सर्वसाधारण बचतकर्ताको करोडौं रकम हिनामिना गरेर घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताले लेखापरीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र लेखापरीक्षण गर्न समिति बनाएको थियो ।

समितिले २८ दिन लगाएर गरेको करिब ४५० पृष्ठको अनुसन्धान प्रतिवेदन समितिका कोषाध्यक्ष र बचतकर्ताद्वारा गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई हस्तान्तरण गरिएको हो । 
लेखापरीक्षक योगचन्द्र बास्तोलाले आफूहरूले उक्त सहकारीको दुग्ध कारोबार बाहेकको सम्पूर्ण हिसाब अध्ययन गरी प्रतिवेदनमा समावेश गरेको बताए । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी दर्ता रजिस्ट्रारको कार्यालयमा बुझाउने बताए ।

लेखापरीक्षकले दिएको प्रतिवेदनमा सहकारीको १२ करोड रूपैयाँ हिनामिना गरेको देखिएको तथा करिब २५ करोड रूपैयाँ नियम विपरीत लगानी गरेको देखिएको छानबिन समितिका एक सदस्यले बताए । सहकारीको १४ वर्षको अवधिमा अध्यक्ष र सचिवले करिब ८० करोड गैरकानूनी ढङ्गले चलाएको देखिन्छ ।

त्यसमध्ये पछिल्लो वर्ष २५ करोड नियम विपरीत लगानी गरेको र १२ करोड रूपैयाँ कहाँ छ भन्ने नदेखिएको ती सदस्यले बताए । गएको असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि बचतकर्ताले उनीहरूलाई कारबाहीको माग गर्दै आफ्नो बचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दबाब दिँदै आएका थिए । 

सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पछिल्ला केही दिन यता बचतकर्ताहरूले अध्यक्ष र सचिवका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ । बुधबार अपराह्नदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबिच छलफल भए पनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरूलाई रातभर निस्कन दिएनन् । 

अहिले पनि उनीहरू बचतकर्ताहरूको नियन्त्रणमै छन् । असार १७ देखि फरार दुवै जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको बताए । स्थानीय सहकारीमा समेत समस्या देखिन थालेपछि बचतकर्ता अहिले त्रसित छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७