राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधार : उपप्रधानमन्त्री सिंह


२०८२ श्रावण ८ बिहीबार २०:३१ बजे

ललितपुर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधार भएको बताएका छन् । 

जननायक बिपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती विषयक विशेष संवादमा उपप्रधानमन्त्री सिंहले आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्नका लागि प्राप्त अधिकारलाई सुरक्षित गरेर जनतालाई अधिकार सम्पन्न बनाउन लेखाजोखा गरेर कदम चाल्नुपर्नेमा जोड दिएका छन् । 

‘राजनीतिक स्थायित्व भएन भने विकास हुँदैन, अहिलेको प्रणालीअनुसार दुई वा तीन दल नमिली सरकार बनाउन सक्ने अवस्था छैन । कार्यगत एकताका आधारमा सबैलाई समेट्नु पर्छ भन्ने २०४६ सालमा गणेशमान सिंहले लिएको नीतिअनुसार अहिले गठबन्धन सरकार हुनुपरेको हो । पद्धतिअनुसार देशमा दलहरु चलेको खण्डमा राजनीतिक स्थायित्व आउँछ, आर्थिक नीति सबल हुँदै जान्छन्, अर्थतन्त्रमा सुधार आउँछ’, उपप्रधानमन्त्री सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले प्रजातान्त्रिक समाजवादका प्रवर्तक बिपी कोइरालामा अत्यन्तै प्रभावशाली नेतृत्व रहेको उल्लेख गरे । ‘बिपीको विचारधारा कांग्रेसले छोड्यो कि भन्ने आवाज उठिरहेको छ, प्रतिकूल अवस्थामा कसैसँग आफ्नो सिद्धान्तमा सम्झौता नगरेको पार्टी नेपाली कांग्रेसले आधारभूत कुरालाई कसैसँग सम्झौता गर्दैन, लोकतान्त्रिक मूल्यमान्यता र आदर्शमा बिपीले कसैसँग सम्झौता गर्नुभएन’, उनले भने । 

नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले २०४६ सालपछि नेपाली कांग्रेसले अवलम्बन गरेको नरम र उदार आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र राम्रो बनाउनका लागि निजी क्षेत्रको भूमिकालाई प्रोत्साहन गरेको बताए । 

विसं २०४७ को नेपालको अवस्थाबाट अहिले नेपालको अर्थ व्यवस्थामा धेरै परिवर्तन भएको भन्दै यसका लागि नेपाली कांग्रेस जस्तो पुरानो र इतिहास बोकेको गौरवशाली राजनीतिक पार्टीले ठूलो योगदान गरेको प्रष्ट पारे । उनले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने गरी विकासका लागि हुने पुँजीगत खर्च वृद्धि हुनका लागि अवरोध गर्ने कानुनलाई यथाशीघ्र संशोधन र परिमार्जन गरेर समाधान गरिनुपर्छ भन्नेमा जोड दिए ।

कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँले बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईको अथक प्रयासले प्रजातन्त्र प्राप्त भएको भन्दै त्याग र योगदान गरेका विद्वत व्यक्ति, नेतृत्वहरुको विश्वासलाई कायम राख्न जनताको अपेक्षाअनुसार काम गर्न लोकतन्त्रवादीहरु एकजुट भएर कर्म गर्नुपर्नेमा जोड दिए । 

बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले गरिबी र पछौटेपनबाट नेपाललाई मुक्त गराउन आर्थिक क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै बिपी कोइरालाले भनेको जस्तो समाजप्रति उत्तरदायी लोकतान्त्रिक समाजवादलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिए ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले नेपालको आर्थिक रुपन्तरणको सम्भावना र चुनौतीका बारेमा चर्चा गर्दै अहिलेको युवा पुस्ताले खोजेको रुपान्तरणका लागि काम गर्न गर्नुपर्ने कार्यहरूको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७