पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज आयोजित पत्रकार सम्मेलनमा आफूलाई एमालेको पूर्व उपाध्यक्षको रूपमा प्रस्तुत गरेकी छिन् । एमाले केन्द्रीय कमिटीको बैठकले पार्टी सदस्यता नै खोसेपछि भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफू अब पूर्व राष्ट्रपति नभएको सन्देश दिएकी छिन् ।
राष्ट्रपतिको सात वर्षे कार्यकालसहित ४५ वर्षदेखि एमालेको सदस्य रहेको दाबी गर्दै उनले आफूलाई एमालेको पूर्व उपाध्यक्षको रूपमा प्रस्तुत गरेकी हुन् । पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता कसैले खोस्न नसक्ने भन्दै पटक–पटक प्रतिवाद गर्दै लिखित दुई पन्ने विज्ञप्ति पढेकी छिन् । विज्ञप्तिमा अन्तिमा ‘विद्या भण्डारी, पूर्व उपाध्यक्ष, नेकपा (एमाले) लेखिएको छ । अर्थात् उनले आफूलाई अबदेखि पूर्व राष्ट्रपतिको रूपमा नचिनाउने सन्देश पत्रकार सम्मेलनमार्फत दिएकी छिन् ।
पार्टी उपाध्यक्ष हुँदाहुँदै भण्डारीलाई एमालेले राष्ट्रपति बन्न पठाएको थियो । उनी दुई पटक गरी सात वर्ष मुलुकको राष्ट्रपति भएकी थिइन् । राष्ट्रपति बनेको सात वर्ष र त्यस बाहेक ३ वर्षलाई पनि जोडेर भण्डारीले सदस्यता लिएको समय ४५ वर्ष भएको बताएकी छिन् ।
‘कानूनले सदस्यता लिन रोक्दैन, छेक्दैन । यो घाम जत्तिकै छर्लङ्ग छ । पार्टी सदस्यताबाट बञ्चित गर्नुपर्ने कारण छैन । पार्टीमा सहभागी हुन पाउनु मेरो संवैधानिक अधिकार हो । अपरिपक्व निर्णयले मलाई दुःखी बनाएको छ । यसले पार्टीको साखलाई गिराउँछ । यो वैद्य र परिपक्व हुन सक्दैन,’ भण्डारीले भनिन्, ‘राष्ट्रपति हुँदा सदस्यता लिएको ३५ वर्ष भएको थियो । अहिले ४५ वर्ष भइसकेको छ। यसैले पार्टीको नीति, सिद्धान्तप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई एमालेका राजनीतिबाट बञ्चित गर्न मिल्दैन ।’