रेडक्रसमा समेत कांग्रेस–एमालेको भागबण्डा


२०८२ श्रावण ९ शुक्रबार २०:३५ बजे

काठमाडौं । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गर्दै नयाँ तदर्थ समिति गठन गरिएको छ ।

कांग्रेस र एमालेले भागबण्डा गरेर कांग्रेस निकट बिनोद शर्माको नेतृत्वमा नौं सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको हो । शर्माले विगतमा रेडक्रसको उपाध्यक्ष पदमा काम गरिसकेका छन् ।

सरकारले गठन गरेको तदर्थ समितिमा कांग्रेसबाट अध्यक्षसहित पाँच र एमालेबाट महामन्त्रीसहित चार जना हुनेगरी भागबण्डा मिलाइएको छ । महामन्त्रीको जिम्मेवारी पाएका मीनबहादुर मल्ल भने एमाले निकट हुन् ।

नवगठित तदर्थ समितिका अन्य सदस्यहरूमा हरि बराल, लोकदर्शन श्रेष्ठ, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ, हरि दर्शन श्रेष्ठ, हेमराज ओझा, गंगाधर अधिकारी छन् । यीमध्ये एमालेबाट स्थान पाएकाहरूमा हरि बराल, मीनबहादुर मल्ल, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ छन् ।

तदर्थ समितिलाई विधान संशोधन गरेर तीन महिनाभित्र चुनाव गर्न कार्यादेश दिइएको छ । नेपाल रेडक्रस सोसाइटी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित संस्था हो । हालको तदर्थ समिति विघटन गरेर नयाँ बनाउन उक्त मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको थियो ।

संस्थाभित्रको आन्तरिक विवादले निर्वाचित कार्यसमिति आउन सकेको छैन । रेडक्रसको मुख्यालय आइएफआरसीले संस्थाको दलगत भागबण्डाका आधारमा तदर्थ समितिमा उपल्लो तहमा रहेका पाँच जनालाई निलम्बन गरेको थियो । अध्यक्ष सुर्दशन नेपाल सहित भूपतिलाल श्रेष्ठ, बिनोद बस्नेत, मनोज थापा र नारायण तिमिल्सिना निलम्बनमा परेका थिए ।

सुदर्शन नेपालको नेतृत्व पनि तदर्थ समितिको रूपमै थियो । अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली रहेको बेला तदर्थ समितिको अध्यक्ष नेत्र तिम्सिनालाई बनाइएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपालको अध्यक्षतामा तदर्थ समिति बनाएर तिम्सिनालाई संस्थाको नेतृत्व दिइएको थियो ।

तिम्सिना र नेपाल दुवैले निर्वाचित समिति भने ल्याउन सकेनन् । संस्थामा सञ्जीव थापा अध्यक्ष बनेयता निर्वाचित समिति आउन सकेको छैन । थापालाई आर्थिक अनियमिततामा मुछिएको आरोप लागेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले हटाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७