एमाले केन्द्रीय कमिटीमा उषाकिरणले भनिन् : अब निःशर्त नेतृत्व हस्तान्तरण हुनुपर्छ

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीमा निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने बताएकी छन्। वर्तमान अध्यक्ष केपी शर्मा ओलीले २ कार्यकाल अध्यक्ष चलाएर नेतृत्व गर्ने पर्याप्त अवसर पाएको भन्दै तिम्सेनाले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग गरेकी हुन् ।
सोमबारदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा मंगलबार भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो। कोअर्डिनेसन केन्द्रदेखिका कमरेडहरू हुनुहुन्छ, आपसी समझदारीमा जो अध्यक्ष भएपनि कमिटी माहतत रहेर पार्टी चल्ने कुराको ग्यारेण्टी अबको विधानले निर्धारण गर्नुपर्छ ।’
तिम्सेनाले कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाउनुपर्ने बताइन् । उनले कुनै पनि फौजदारी अभियोग नलागेका सदस्यको सदस्यता खोस्न नपाइने व्यवस्था कायम हुनुपर्ने बताइन् । भनिन्, ‘विधानमा एउटा अपरिहार्य बुँदा थपिनुपर्छ । संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागिकन खोस्न नपाइने व्यवस्था कायम गरियोस् ।’
तिम्सेनाले एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुग्नु दुखत भएको बताइन् । ‘अध्यक्ष कमरेड र महासचिव कमरेडहरूले पेस गर्नु भएको मौखिक प्रतिवेदनमा मेरो आलोचनात्मक समर्थन छ,’ केन्द्रीय बैठकमा बोल्दै उनले भनिन्, ‘एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुगेको कुरा त्यति शोभनीय लागेन। र मौखिक भाषण गर्दा पेस गर्नु भएका दाबीहरू अपूरा छन्।’
तिम्सेनाले प्रतिगामीहरूको उदयलाई पार्टीले गम्भिरतापूवर्क नलिएको पनि बताइन् । ‘पार्टी कमिटीभित्र तपाईंहरूले पेस गर्नु भएका कुराहरू समाजमा मेल खाँदैनन्,’ भन्दै तिम्सेनाले भनेकी छन्, ‘काठमाडौंमा प्रतिगामीहरूको जुन खालको प्रदर्शनहरू भए र जसरी प्रतिगामीहरूको उदय भएको छ, यसलाई नेतृत्वले जति गम्भीरतापूर्वक लिनुपर्थ्यो त्यति गम्भीर नभएको जस्तो लागेको छ। सिंगो केन्द्रीय कमिटीका अध्यक्षदेखि केन्द्रीय सदस्य सम्मलाई आग्रह र अनुरोध गर्न चाहन्छु।’
उनले मिसन ८४ को हल्ला गर्नुभन्दा आज राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुले के गरीरहेका छन् त्यो महत्वपूर्ण भएको बताइन् ।‘हामी मिसन ८४ भनिरहेका छौं, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका छौं,’ उनले सोधेकी छन्, ‘अनि जनतालाई ८४ देखाएर हुन्छ ? आज हामी के गर्दैछौं भन्ने कुरा मुख्य होइन र ?’