पूर्व राष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।
पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउने गरी पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरिएको हो । केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।
संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको छ । पूर्व राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन अशोभनीय हुने एमालेको निष्कर्ष छ ।
यता पूर्व राष्ट्रपति भण्डारीले आफू अघि बढिसकेकाले खुट्टा नकमाउने बताइसकेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयपछि पूर्व राष्ट्रपति भण्डारीले केहि दिनमै आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी थिइन् ।