देउवाले किन बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका छन् । भोलि बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा पदाधिकारी, पूर्व पदाधिकारीसहित सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको छ । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
सरकारले अघि बढाएको विभिन्न विधेयक र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष बिच्किएको छ । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक बोलाएका हुन् । अन्य नेताहरू सरकारप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम नै छन् ।