ओलीको प्रस्तावमा पाण्डे र ज्ञवालीको प्रतिवादपछि हो-हल्लामा सकियो एमाले बैठक

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिने प्रस्ताव गरेपछि हो–हल्लामा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठकमा ओलीले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने प्रस्ताव गरेका थिए ।
बैठकमा उनले पार्टी विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताए । ‘हाम्रो पार्टीको विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ’, उनले भने, ‘उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन । उहाँले सदस्यता त्यागिसकेको अवस्थामा पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ ।’
ओलीको प्रस्ताव लगत्तै उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए । पाण्डेपछि युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए । उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् ।
त्यहीविचमा अध्यक्ष ओलीले बैठक समापन गरेका थिए ।