पद चाहिन्न, पार्टीमा राख्ने भए काम देऊ : वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने बताएका छन् । आज कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरे ।
उनले काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरे । नेता गौतमले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने धोषणा गरे ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन ।’
उनले भने, ‘यदि तपाईंले पद दिनु हुन्छ तर काम दिनु हुन्न भने म धेरै लामो समय तपाईहरुसँग बस्न सक्दिन । मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला की, दुई वटा जिल्ला की आधा जिल्ला की, एउटा पालिका की । क्षेत्र भनेको । जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।’ वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्याउनु पर्ने बताएका छन् ।