आफू निकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोइरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरू रहेको दाबी गरेका छन् । पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरूसँगको भेटपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् ।
उनले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरूलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताए । उनले यसको निष्कर्ष भने निस्किन नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताए । उनले संसदीय दलको नेतामा भिड्न सांसद कोइरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गरे ।
उनले भने, ‘हाम्रा जति पनि साथीहरू केन्द्रीयस्तरमा वा प्रदेशस्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यी सबै साथीहरूलाई ‘ब्याक’ बोलाउने भन्नेसम्म पनि जानसक्छ । त्यसैको निम्ति एक–दुई दिन हामीलाई समय लाग्छ । आजका मितिमा डा. शेखर कोइरालाले चाहँदाखेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ । संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ । अहिले देश रोएको अवस्था छ ।’
सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको बताए । वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोइरालाले राख्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ ।