एमाले केन्द्रीय कमिटी बैठक आज : केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेट समय


२०८२ श्रावण ५ सोमबार ०८:१४ बजे

काठमाडौं । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (सोमबार) ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ ।

बैठकको सुरुवमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्ने छन् । यस्तै महासचिवले साँगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्नेछ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । सचिवालय,स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् । बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सिसम्म लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । उपाध्यक्ष पौडेलले विधान यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने गौतमले जानकारी दिए ।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७