गृहमन्त्री लेखकको दावी : देशको शान्ति सुरक्षा ठिक छ
‘सवारी दुर्घटनामा दैनिक सात जनाको मृत्यु’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन् । आज (शुक्रबार) संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा, नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको बताएका हुन् ।
उनले अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताएका छन् । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको उनको भनाइ छ ।
‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ । हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो । नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने, ‘अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो। मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानुनको कार्यान्वयन गर्ने, गराउने लगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन् ।’ गृहमन्त्री लेखकले लागुऔषध न्युनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताए ।
‘सवारी दुर्घटनामा दैनिक सात जनाको मृत्यु’
गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा परेर दैनिक औसतमा सात जनाको मृत्यु हुने गरेको बताएका छन् । सवारी साधन चलाउँदा पूर्व सावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने लगायतका कार्यले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दैनिक सात जना पुगेको बताएका हुन् ।
सवारी दुर्घटना, लागुऔषध, आत्महत्या सुरक्षा चुनौतीको रूपमा देखा परेको उनको भनाइ थियो । ‘सवारी दुर्घटना एउटा चुनौतीको रुपमा देखा परेको छ । आजका दिनमा औसतमा प्रतिदिन सात जना व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु भइराखेको छ,’ गृहमन्त्री लेखकले भने, ‘यसको नियन्त्रण अर्को एउटा महत्वपूर्ण चुनौती भएको छ ।’
नेपाल प्रहरीका प्रमुख दीपक थापाले सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार ५ सय ४९ जनाको मृत्यु भएको जानकारी दिए । त्यसरी सवारी दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका रहेको उनले जानकारी दिए । सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने, लागुऔषध प्रयोग गरेर सवारी चलाउने, सवारी चलाउँदा पूर्व सचेतना नअपनाउने, हेलमेट नलगाइ सवारी चलाउने गर्दा दुर्घटना बढेको थापाले जानकारी दिए ।