विधान बहसले एमालेका ‘वाकयुद्ध’ : शंकरलाई ईश्वरको ‘काउन्टर’

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको विधान संशोधन (मस्यौदा) प्रस्तावले पार्टीमा गमागर्मी बढाएको छ । हिजोको एमाले सचिवालय वैठकमा प्रस्तुत विधान (मस्यौदा) प्रस्तावपछि शीर्ष नेताहरुबीच नै वाकयुद्ध सुरु भएको छ ।नेताहरु प्रस्तावको पक्ष र विपक्षमा विभाजित देखिएका छन् । विधान संशोधन प्रस्तावबारे सचिवालय बैठकको निर्णयलाई लिएर पार्टीका शीर्ष नेताहरू नै ‘वाकयुद्ध’ मा उत्रिएपछि आजको पोलिटब्युरो बैठक पनि गमागर्मीपूर्ण हुुने देखिएको हो । पोलिटब्युरो बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ ।
गए राति अबेरसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयलाई उद्धृत गर्दै महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरे लगत्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पोखरेलको प्रतिवाद गरेका छन् । साथै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएको भन्दै पोलिटब्युरो बैठकमार्फत परिमार्जनका लागि छलफल गर्न तयारी गर्न अपिल गरेका ।
शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भएको बताएको केही घण्टामै वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई काउन्टर जवाफ दिएका हुन् । ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन–८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ’, महासचिव पोखरेलले भनेका छन् । शुक्रबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले पार्टीमा ७० बर्षे उमेरहद र २ कार्यकाल हटाउने तथा पदाधिकारी सङ्ख्या १५ बनाउने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वमा आउने प्रयास गरिरहेका बेला सचिवालय बैठकले गरेका निर्णयहरूबाट भण्डारी आगामी विधान महाधिवेशनमै प्रतिनिधि बन्न नपाउने भएकी छन् । यो प्रबन्धका कारण एमालेको ११ औँ महाधिवेशनमा ओली नै दोहोरिने निश्चित भएपछि पोखरेल विधि निर्माणको अन्योल हटेको बताएका हुन् । तर विद्या भण्डारीको पक्षमा खुलेर लागेका वरिष्ठ उपाध्यक्ष पोखरेल सचिवालयको निर्णय उल्ट्याउन सकिने भन्दै पोलिटब्युरो बैठकमा आफू निकटकाहरुलाई अपिल गरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्युरो सदस्यहरूलाई प्रस्तावमाथि बहस र छलफलमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै परिमार्जन गर्न सकिने बताएका छन् ।
‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बिचमा छलफल हुनेछ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’ पोखरेल ७० वर्षे उमेर हद र २ कार्यकाललाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । तर सचिवालय बैठकले उक्त व्यवस्था हटाएपछि पोलिटब्युरोमार्फत परिमार्जन गर्न सकिने पोखरेलको विश्वास देखिन्छ ।