शेखर कोइरालासँगको भेटपछि विद्या भण्डारी भनिन्-सहयोग पाउने आशामा छु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार बिहान भण्डारीको निजी निवास चपली, बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीसँग कोइरालाले एक घण्टा लामो वार्ता गरेका हुन् । भेटमा भण्डारीले आफूलाई सहयोगका लागि कोइरालासँग आग्रह गरेकी थिइन् । कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएको स्रोतले जनाएको छ ।
बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए । नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेको समयमा विद्यासँग शेखरको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बिहीबार मात्र शेखरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । यी भेटमा वैकल्पिक राजनीतिक गठबन्धन बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।