प्रधानमन्त्रीलाई खेलकुदमन्त्री चौधरीको स्पष्टीकरण : एनपीएल रोक्न मेरो संलग्नता छैन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन् ।खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल अयोजना हुने बताए । पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो । त्यसपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताएका छन् ।
मन्त्री चौधरीले भने, ‘हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने ? त्यसकारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ ।’ उनले ऐन÷कानुन र नियमावलीको परिधिभित्र रहेरै एलपिएल हुने बताए । मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनु पर्नेमा जोड दिँदै पत्रकारले सत्यतथ्यमा आधारित निश्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए ।
उनले भने, ‘युवाका क्षेत्रमा क्रियाशील भई युवाको गतिविधि गर्ने, युवा जागरण, सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्दै सामाजिक सद्भाव, युवा उद्यमशीलता, विकास र रोजगारीको क्षेत्रलगायत समग्र युवाका क्षेत्रमा योगदान पुर्याएबापत यो मन्त्रालयले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ, मलाई आशा छ पुरस्कृत युवा पत्रकारले युवाका क्षेत्रमा अझ सशक्त रुपमा काम गर्नु हुनेछ।’ भ्रष्टाचारलाई अन्त्य गर्न र सुशासन कायम गर्नेगरी आफ्नो भूमिका निर्वाह गर्न मन्त्री चौधरीले पत्रकारहरुलाई आग्रह गरे । हिजो एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रमा राजनीति गर्न नहुने बताएका थिए । उनले राष्ट्रिय खेलकुद समेत निर्धारित समयमै हुनुपर्ने बताएका थिए ।