२०औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीलाई बिदाइ


२०८३ भदौ ३० मंगलबार १२:५४ बजे

काठमाडौं । जापानको आइची प्रिफेक्चरस्थित नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली उसु टोलीलाई एक विशेष समारोहबीच औपचारिक बिदाइ गरिएको छ।

 

नेपाल उसु महासंघले आयोजना गरेको बिदाइ समारोहमा एसियाडमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गरिएको हो। यसपटकको एसियाडमा नेपालबाट उसुका १० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। टोलीमा ७ पुरुष र ३ महिला खेलाडी रहेका छन्। नेपालले उसुका दुई प्रमुख विधा थाउलो र सान्सौँ मा सहभागिता जनाउँदैछ।

प्रतियोगितामा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल, सविता राई, रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्लाले प्रतिस्पर्धा गर्नेछन्।

 

टोलीको थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौँ प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य रहेका छन्। त्यस्तै, प्रतियोगितामा निर्णायकका रूपमा मन्जुर महर्जन सहभागी हुनेछन्।

बिदाइ समारोहमा प्रतिनिधिसभा सदस्य प्रभा कार्की, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का बोर्ड सदस्य पवन शाही, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना ‘विश्वास’ लगायत महासंघका पदाधिकारी, उसुका मुख्य प्रशिक्षक तथा प्रशिक्षक र खेलकुदप्रेमीहरूको उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले खेलाडीलाई उच्च मनोबल, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धामा उत्रिन आग्रह गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए। उनीहरूले नेपाली खेलाडीले पदक जितेर फर्किने विश्वाससमेत व्यक्त गरे।

बिदाइ समारोहमा खेलाडी तथा अफिसियलहरूको हौसला बढाउन ‘संगथा इन्भल्भ टुगेदर’ संस्थाले विशेष सहयोग गरेको थियो। संस्थाका तर्फबाट एसियाडमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई आकर्षक टिसर्ट प्रदान गरी सम्मान गरिएको थियो।

लामो समयको प्रशिक्षण र कडा मेहनतपछि जापान प्रस्थानको तयारीमा रहेको नेपाली उसु टोली पदक जित्ने दृढ संकल्पका साथ उत्साही देखिएको छ। एसियाडमा नेपाली खेलाडीको प्रदर्शनले देशको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्‍याउने अपेक्षा नेपाल उसु महासंघले गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७