विश्वकप छनोटअघि नेपालले अस्ट्रेलियामा ट्वान्टी–२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकपको एसिया छनोटअघि अस्ट्रेलियामा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज (शुक्रबार) नेपाली टिमले अस्ट्रेलियामा ट्वान्टी–२० शृंखला खेल्ने जनाएको हो । क्यानका अनुसार, नेपालले अस्ट्रेलियामा कम्तीमा ६ खेल खेल्नेछ । तर, शृंखलाको पूर्ण तालिका भने सार्वजनिक भएको छैन । नेपाली टिमले अगस्ट १४–२४ सम्म यी खेल खेल्ने छ ।
‘टप इन्ड शृंखलाले नेपाली खेलाडीलाई बलियो प्रतिद्वन्दीविरुद्ध अस्ट्रेलियाको वातावरणमा खेल्ने अवसर प्रदान गर्नेछ’, क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नेपाली टिमले केही साताअघि मात्रै स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो । त्यहाँ नेपाली टिमले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।