चार जिल्लाबाट १०२ शव पोखरा ल्याइयो
पहिचानका लागि सार्वजनिक सूचना जारी गरिँदै
कास्की : भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रमा फेला परेका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा शव फेला परे पनि स्थानीय स्तरमा पहिचान, परीक्षण तथा व्यवस्थापनको पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
उनका अनुसार बिहीबार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको थियो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ। तनहुँका विभिन्न स्थानमा फेला परेका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेपछि मणिपाल शिक्षण अस्पताल पठाइएको बरालले बताए।
हाल पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ। थप शव आएमा व्यवस्थापन चुनौती बन्न सक्ने भएकाले स्थानीय प्रशासनले पहिचान प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रशासनले शवको परीक्षणपछि पहिचान खुलाउन सार्वजनिक सूचना जारी गर्ने तयारीसमेत गरिरहेको छ।
.gif)

.png)

