पठनपाठन सञ्चालन गर्न पोखरा महानगरको पनि आग्रह

गण्डकी । पोखरा महानगरपालिकाले यही वैशाख १७ गतेसम्म महानगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।
महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशन गरी विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएकाले नगर शिक्षा समितिको निर्णयअनुसार १७ गतेसम्ममा विद्यालयहरूमा पठनपाठन गराउन सम्बद्ध सबैमा आग्रह गरेको हो ।
महानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार यही वैशाख ८ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्नुपर्ने भए पनि यस अघि सूचना प्रकाशित गरी वैशाख ११ गतेबाट पठन पाठन सञ्चालन गर्ने सूचना जारी गरिएकामा आज दोेस्रो सूचना जारी गरिएको हो । आजै ललितपुर महानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई सञ्चालनका लागि अनुरोध गरेको थियो ।
महानगरका प्रवक्ता राजु महर्जनले महानगरका सबै सामुदायिक विद्यालयहरुलाई सम्बोधन गर्दै लेखिएको पत्रमा वैशाख १६ गतेदेखि भर्ना प्रक्रिया एवम् नियमित पठनपाठन पूर्णरुपमा सञ्चालन गर्न गराउन आग्रह गरिएको छ । सर्वोच्च अदालतले पनि देशभरका बालबालिकालाई विद्यालयाम नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु नगराउनू भन्ने आदेश आएबमोजिम महानगरले यस्तो अनुरोध गरेको हो । करिब एक महिनादेखि जारी काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।