पोखरा महानगरले गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने


२०८२ चैत १४ शनिबार ०४:३७ बजे

काठमाडौँ : देशकै ठूलो क्षेत्रफल भएको पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यससम्बन्धी सम्झौता शुक्रबार महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच भएको हो। महानगर प्रमुख धनराज आचार्यका अनुसार विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन तथा नियमावलीअनुसार कार्यक्रम लागू गरिनेछ।

महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त गरिब घरपरिवारको सूचीका आधारमा आगामी २०८३ जेठ मसान्तसम्म लक्षित वर्गलाई बिमामा समेट्ने योजना बनाएको छ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ र सोभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि सात सय रुपैयाँ महानगरपालिकाले बिमा बोर्डलाई भुक्तानी गर्नेछ।

कार्यक्रममा सहभागी हुन सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब परिवारको सिफारिस लिनुपर्नेछ। साथै, दर्ता सहयोगीमार्फत भरिएको फारामसहित महानगरको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि विवरण स्वास्थ्य बिमा बोर्डको प्रणालीमा प्रविष्ट गरिने जनाइएको छ।

महानगर प्रमुख आचार्यले यस कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेका छन्। 'आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठूलो राहत मिल्ने विश्वास लिएका छौँ । महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको छ', उनले भने।

महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले कार्यक्रम कार्यान्वयनका लागि प्रारम्भिक चरणमा दर्ता सहयोगीलाई अभिमुखीकरण गरिने जानकारी दिए। लक्षित वर्गलाई कार्यक्रममा सहभागी हुन महानगरपालिकाले अनुरोध गरेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७