एमालेले भन्यो–अहिलेका समस्या हामी सरकारमा आएपछि मात्र आएका होइनन्


२०८२ बैशाख १३ शुक्रबार २१:१७ बजे

काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले संसदले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले विगतका अभ्यासबाट पाठ सिक्दै संसद्लाई सहमतिको थलो बनाउनु पर्ने बताए । यतिबेला अराजकता मच्चाउन चाहनेले देशलाई विभाजन गर्न खोजेकाले त्यसलाई नियन्त्रण गर्दै अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।  

संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च थलो भएकोले त्यहाँ त्यही अनुसारको अभ्यास हुनु पर्नेमा उनले जोड दिए । असहमति र विरोधलाई संवैधानिक माध्यमबाट समाधान गर्नुपर्ने उनले बताए । ‘दुनियाँका संसदीय अभ्यासमा सहमति हुन्छ, असहमति हुन्छ, तर संसदीय अभ्यास र सहमतिबाट समस्याको समाधान खोज्न सकिन्छ’, उनले भने । देशमा देखा पर्ने सम्भावित अराजकता नियन्त्रण गरी देशलाई सही बाटोमा अगाडि बढाइ जनतामा आशा जगाउनु पर्ने विष्टको धारणा छ । यस तर्फ संसद् केन्द्रित हुनु पर्ने उनको धारणा छ ।

लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक व्यवस्थाले नै दिने उनले प्रष्ट पारे । अहिले देशले आर्थिक चुनौती खेपिरहेको बताउँदै उनले यसलाई नियन्त्रण गर्न उत्पादन वृद्धिमा ध्यान दिनु पर्ने बताए । यो कुरालाई सरकारको आउने नीति तथा कार्यक्रमले समेट्नु पर्ने उनको धारणा छ । उनले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ। सांसद विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए ।

‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थ व्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’ तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउन नसक्ने उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७