नेकपा एमालेको महाधिवेशन स्थल काठमाडौं सारियो
काठमाडौँ : शनिबार बसेको नेकपा (एमाले)को सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यसअघि केन्द्रीय कमिटीले पार्टीको १५औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो । तर, शनिबारको बैठकपछि महाधिवेशन स्थल सारिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार महाधिवेशन तोकिएकै मितिमा अर्थात् मंसिर २७ देखि २९ गतेसम्म हुनेछ तर काठमाडौँमा हुनेछ ।
एमालेका ६ लाख ६७ हजार ६३० सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिनेछ । प्रतिनिधि छनोट मंसिर १३ गते शनिबार देशभर एकै पटक हुनेछ र सोको विवरण मंसिर १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ।
उनका अनुसार प्रतिनिधि चयन प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा हुनेछ। 'प्रत्येक निर्वाचन क्षेत्रका १२०० सदस्यका लागि दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरी कम्तीमा चार जना प्रतिनिधि निर्वाचित हुनेछन्,' उनले भने ।
पार्टीको १५औँ महाधिवेशनमा करिब २ हजार १०० जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
.gif)

.png)

