नेकपा एमालेका सबै पदाधिकारी पराजित
काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका सबै पदाधिकारी पराजित भएका छन् । पार्टीका शीर्ष नेता केपी शर्मा ओलीदेखि महासचिव शङ्कर पोखरेल र उपाध्यक्षहरू संसदीय निर्वाचनमा पराजित भएका हुन् ।
केपी शर्मा ओलीको पराजय
अध्यक्ष केपी शर्मा ओली झापा-५ मा पराजित भए । उनले १८ हजार ७३४ मत मात्रै प्राप्त गरे भने रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मत ल्याएर ४९ हजार ६१४ मतको फराकिलो अन्तरले ओलीलाई पराजित गरे ।
उपाध्यक्षहरूको पराजय
पार्टीका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ मा पराजित भए । उनले १२ हजार ८६१ मत मात्र प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले ५६ हजार ५५० मत ल्याए।
त्यस्तै, अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि लमजुङमा पराजित भए। उनले १६ हजार ८७६ मत ल्याए, जबकि रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
गोकर्ण विष्ट गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थीसँग १६ हजार ८७८ मतमा हारिएका छन्। निकै आशा गरिएका विष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीसँग पराजित हुन पुगेका हुन् ।
महासचिव र सचिवहरूको पराजय
महासचिव शङ्कर पोखरेल दाङ-२ मा १२ हजार ३७९ मतान्तरले पराजित भए। राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यले २० हजार ७४६ मत ल्याएर विजय हासिल गरे।
उपमहासचिव लेखराज भट्ट कैलाली-४ मा रास्वपाका खेमराज कोइरालासँग पराजित भए। यहाँ रास्वपाका खेमराज कोइराला २८ हजार ५५६ मतसहित विजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्। एमालेका भट्ट ९ हजार ४४४ मतसहित तेस्रो स्थानमा रहे । भट्ट यसअघि पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए ।
सचिव महेश बस्नेत भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीसँग पराजित भए । खत्रीले ४२ हजार ३३४ मत ल्याए भने बस्नेतले १० हजार ९९६ मतमा सीमित भए ।
पार्टीको भविष्यप्रति प्रश्न
यस हारपछि नेकपा एमालेको नेतृत्व, नीति र कार्यक्रमको विषयमा गम्भीर प्रश्न उठेका छन् । ०७९ मा ७८ सिट जितेर दोस्रो स्थानमा रहेको एमाले यस पटकको पराजयपछि भविष्यका लागि चुनौतीपूर्ण अवस्थामा पुगेको छ।
पार्टी नेतृत्वले परिणामको समीक्षा गर्नुपर्ने विषय उठेको छ । उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामपछि सामाजिक सञ्जालमार्फत पार्टीको नेतृत्व र कार्यशैली सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टीका सदस्यलाई परिणामबाट विचलित नहुन र सुधारको लागि प्रयास गर्ने आह्वान गरे।
०४६ सालको जनआन्दोलनपछि शक्तिशाली पार्टीको रूपमा स्थापित भएको एमालेले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा महत्त्वपूर्ण सिट जितेको थियो । २०७९ मा प्रत्यक्ष र समानुपातिक मतसँगै दोस्रो ठूलो दल बनेको पार्टीले माओवादीसँग एकता गरेर १७४ सिट जितेको थियो ।
.gif)

.png)

