अमेरिकाको हवाईमा हुने ‘ल्याण्ड फोर्सेस टक’मा अनुपजंग थापाले नेपालको प्रतिनिधित्व गर्ने


२०८३ श्रावण २४ आइतबार २३:०१ बजे

काठमाडौँ : नेपाली सेनाका उपरथी अनुपजंग थापाले अमेरिकी सेनाको प्यासिफिक कमाण्डले आयोजना गर्ने ‘ल्याण्ड फोर्सेस टक’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

अमेरिकाको हवाईमा अगस्ट १० देखि १२ सम्म आयोजना हुने कार्यक्रममा उपरथी थापा सहभागी हुने नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले पुष्टि गरेका छन्।

यसअघि नेपाली सेनाको तर्फबाट रथी तहका अधिकारीले सहभागिता जनाउँदै आएको भए पनि यसपटक उपरथी थापालाई प्रतिनिधिका रूपमा पठाइएको हो। थापा भावी प्रधानसेनापतिका सम्भावित दाबेदारसमेत मानिन्छन्।

उपरथी थापासँगै रक्षा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल र परराष्ट्र मन्त्रालयको अमेरिका–युरोप डिभिजनकी उपसचिव प्रतिज्ञा राई पनि सम्मेलनमा सहभागी हुन हवाई प्रस्थान गरिसकेका छन्।

गत वर्ष काठमाडौँमा आयोजित ‘ल्याण्ड फोर्सेस टक’मा नेपाली सेनाका रथी प्रदीपजंग केसीले नेपालको प्रतिनिधित्व गरेका थिए।

‘ल्याण्ड फोर्सेस टक’ अमेरिकी सेना र साझेदार राष्ट्रका स्थल सेनाबीच हुने नियमित उच्चस्तरीय सैन्य संवाद हो। सम्मेलनमा द्विपक्षीय सैन्य सहकार्य विस्तार, संयुक्त सैन्य अभ्यास, तालिम, क्षमता अभिवृद्धि तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायत विषयमा छलफल हुने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७