पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने तयारी

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार काठमाडौंमा अराजकता मच्चाउने मुख्य व्यक्ति नै पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनको राहदानी रद्द गर्ने प्रक्रिया अगाडि बढाएको उच्च सरकारी स्रोतले जानकारी दियो ।
‘शुक्रबार काठमाडौंमा हिंसात्मक र आपराधिक घटना घटाउने मुख्य योजनाकार पूर्वराजा हुन् भन्ने निष्कर्ष निस्किएको छ,’ सरकारी उच्च स्रोतले भन्यो, ‘यसैले हिंसा मच्चाउने मुख्य योजनाकार रहेको र टिम परिचालन गरेको आधारमा उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ ।’
सुरक्षा संयन्त्रले हिंसा मच्चाउन शाहले नै भूमिका खेलेको निष्कर्ष निकालेको छ । शाहलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको सरकारको बुझाइ छ । ‘उनी नै मुख्य नाइके रहेकोमा कुनै दुईमत रहेन । सञ्चारमाध्यमदेखि पब्लिक तहसम्ममा ज्ञानेन्द्रलाई निगरानी गर्न, जवाफदेही बनाउन दबाब परेको छ,’ सरकारी उच्च स्रोतले भन्यो, ‘यस्तै दबाब बढ्दै गए ज्ञानेन्द्र शाह पक्राउ पर्न पनि सक्छन् ।’