हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
काठमाडौं : जलवायु परिवर्तनका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको मानवीय तथा आर्थिक क्षति सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको सञ्चालक समितिसमक्ष सहयोगको अनुरोध गरेको थियो ।
कोषका लागि नेपालको राष्ट्रिय सम्पर्क अधिकृत तथा वैकल्पिक सञ्चालक समिति सदस्यसमेत रहेका ढकालले नेपालको अनुरोधलाई अघि बढाउन विकसित तथा विकासशील राष्ट्रका प्रतिनिधिहरूबीच विभिन्न चरणमा छलफल र समन्वय गरिएको जानकारी दिए ।
उनका अनुसार कोषको निर्णयअनुसार नेपालले बाढी प्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार पारेर पेस गर्नुपर्नेछ । कोषको कार्यविधिअनुसार उक्त प्रस्ताव स्वीकृत भएपछि प्रभावित समुदायका लागि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
मन्त्रालयका अनुसार गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट करिब १५ हजार परिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार उक्त विपद्मा करिब एक हजार ५०० जनाको मृत्यु भएको र पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको उल्लेख छ ।
बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको तथा पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनका कारण बढी जोखिममा रहेका विकासशील राष्ट्रलाई विपद्बाट भएको क्षति सम्बोधन गर्न हानिनोक्सानी कोषले गरेको निर्णय महत्त्वपूर्ण रहेको मन्त्रालयको भनाइ छ । यसले जलवायु परिवर्तनका असरबाट प्रभावित समुदायलाई सहयोग पुर्याउनुका साथै जलवायु न्यायको अवधारणालाई व्यवहारमा उतार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
.gif)

.png)



