राप्रपा विरोध प्रदर्शन संयोजन समितिको संयोजकमा ज्ञानेन्द्र शाही
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध कार्यक्रमहरू प्रभावकारी बनाउने उद्देश्यले चार सदस्यीय संयोजन समिति गठन गरेको छ। समितिको संयोजकमा प्रवक्ता ज्ञानेन्द्र शाही तोकिएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा राप्रपाको धारणा देशभर पुर्याउन सभा तथा विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति गठन गरिएको उल्लेख छ।
समितिमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा र सहमहामन्त्री रविन्द्र प्रताप शाह सदस्य रहेका छन्। आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो ।
समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए । बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, सङ्गठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।
बैठकमा सहभागी नेताहरूका अनुसार जेनजी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजसंस्थाका बीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जनआन्दोलनको मार्ग रोजेको बताइएको छ ।
आजको बैठकले २३ गतेका लागि विस्तृत कार्ययोजना, सुरक्षा, भीड व्यवस्थापन, कार्यक्रम प्रवाह र मिडिया व्यवस्थापनमा उपसमिति गठन गरेको छ । राप्रपाका अनुसार नजिकिँदै गएको आन्दोलनलाई प्रभावकारी बनाउन दैनिक ब्रिफिङ र प्रदेश तथा जिल्ला स्तरका संयोजक बैठकहरू निरन्तर भइरहनेछन् ।
.gif)

.png)

