प्रधानमन्त्रीकाे राजीनामा नमाग्न हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीकाे अनुराेध

हर्क साम्पाङलाई ३५ वर्षे इतिहास सम्झाउँदै ज्ञानेन्द्र शाही


२०८३ जेठ १ शुक्रबार १०:३५ बजे

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा नमाग्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले साम्पाङलाई सम्बोधन गर्दै अहिलेको मुख्य प्राथमिकता राजीनामा भन्दा पनि व्यवस्था सुधार हुनुपर्नेमा जोड दिएका हुन्।

 

सांसद शाहीले आफ्नो सन्देशमा विगत ३५ वर्षदेखि देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रविरुद्ध जनताले नयाँ शक्तिलाई मत दिएको स्मरण गराएका छन्। उनले भनेका छन्, 'माननीय हर्क साम्पाङज्यू, प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने ठोस कारण अहिले छैन। जनताले हामीलाई पुराना शक्तिहरूका गलत कार्य सच्याउन र उनीहरूविरुद्ध लड्न चुनेका हुन्, त्यसैले जनमतको सम्मान गरौँ।'

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका बेला शाहीले उनलाई सहकार्यको बाटो रोज्न अपील गरेका छन्। 'हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ,' शाहीले लेखेका छन्, 'हाम्रो माग यति मात्र हुनुपर्छ कि प्रधानमन्त्री थप प्रजातान्त्रिक र संसदप्रति जवाफदेही बनून्।'

संसद नै जनताको आवाज बुलन्द गर्ने सर्वोच्च थलो भएको उल्लेख गर्दै शाहीले सरकारलाई संसदभित्रैबाट प्रश्न उठाउन र उत्तरदायी बनाउन साम्पाङलाई सुझाव दिएका छन्। उनले आवेगमा आएर राजीनामाको माग गर्नुभन्दा संसदीय प्रक्रियाको प्रयोग गरेर जनताका मुद्दाहरू सरकारलाई सुनाउनु नै अहिलेको आवश्यकता भएको बताएका छन्।

सांसद शाहीको यो सुझावसँगै नयाँ राजनीतिक शक्तिहरूबीच कार्यगत एकता र असहमतिबारे फेरि बहस सुरु भएको छ। प्रतिनिधिसभामा ७ सिटसहित पाँचौँ ठूलो शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले यस विषयमा कस्तो प्रतिक्रिया दिन्छन् भन्नेमा सबैको चासो बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७