बोलीको कुनै भर नहुँदो रहेछ : ज्ञानेन्द्र शाही
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले उपसभामुख निर्वाचनका क्रममा रास्वपाबाट धोका भएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि पार्टीकी उम्मेदवार सरस्वती लामाको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। रास्वपा सभापति रवि लामिछानेबाट आश्वासन पाएपछि उम्मेदवारी दिएको उनको भनाइ छ।
रास्वपाले अन्तिम समयमा साथ नदिएको भन्दै शाहीले असन्तुष्टि व्यक्त गरे। ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भनेझैं राजनीतिमा आश्वासन र धोका पनि जायज रहेछन् भन्ने कठोर यथार्थ बुझ्दैछु । अब बोलीभन्दा बढी संकेत बुझ्नुपर्ने कुरा सिक्दैछु, किनकि बोलीको कुनै भर नहुँदो रहेछ,’ उनले भने, ‘पार्टी र विचार फरक भए पनि मैले सधैँ आदर्श मानेका व्यक्तित्वबाट सिकेको यो राजनीतिक संस्कारका लागि धन्यवाद व्यक्त गर्दछु ।’
उनका अनुसार उपसभामुखमा उम्मेदवारी दिने विषयमा रास्वपा सभापतिसँग छलफल भएको थियो र जनजाति प्रतिनिधित्वलाई आधार बनाएर निर्णय गरिएको थियो।
रास्वपाबाट प्राप्त आश्वासनकै आधारमा उम्मेदवारी दिएको दोहोर्याउँदै शाहीले अन्तिम समयमा भएको निर्णयका कारण श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी ठाकुरलाई समर्थन गर्न नसकिएको बताए।
.gif)

.png)

