स्ववियु निर्वाचन : पाटन क्याम्पसमा नेविसंघ र अखिलबीच कुटाकुट


२०८१ चैत ५ मंगलबार २३:०३ बजे

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीहरूबीच कुटाकुट भएको छ । स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता–कार्यकर्ताबीच कुटाकुट भएको हो ।

झडपमा अनेरास्ववियुका चार नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबीच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन्।  

अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको बताएका छन् । एक विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको प्रहरीको भनाई छ । १०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद सिर्जना भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

क्याम्पस परिसर बाहिर फलामको रड, लाठी, क्रिकेट ब्याट बोकेका युवाहरू देखिएका छन् । प्रहरीले माइकिङ गरेर भीड नगर्न आग्रह गरिरहेको थियो । त्यही बीचमा एक व्यक्तिले हेलमेटले टाउकोमा प्रहार गरेपछि एक जना घाइते भएको एसपी नरहरि रेग्मीले बताए । ‘म आफैं फिल्डमा जाँदैछु,पर्याप्त संख्यामा प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकिएको छ ।’

निर्वाचन परिसर तनावग्रस्त बनेपछि यतिबेला निर्वाचन समितिको बैठक बसिरहेको छ भने अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् । नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले भने हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७