जनचाहना अनुरुप नै सरकारले काम गरिरहेको छ : मन्त्री सिंह


२०८१ फाल्गुण १ बिहीबार १०:१३ बजे

मकवानपुर । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुरले आज हेटौंडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्दै सकरात्मक ढङ्गबाट अघि बढ्नु पर्नेमा जोड दिए । उनले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । 

आर्थिक समृद्धिलाई नागरिकले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नागरिकका लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेका अधिकार सहज उपभोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिँदै नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही बाटोमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिनु जरुरी रहेको औंल्याए । 

वर्तमान समयमा नागरिकले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको तथा विदेशिने वातावरणको अन्त्य चाहेको उनले बताए । सो चाहना अनुरुप नै यो सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको अपेक्षाअनुसारको काम गर्नुपर्ने मुल दायित्व रहेको बताए । 

पार्टीभित्रका विवाद समाधान गर्न माथिल्ला संरचनासँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन गर्दै पार्टी संगठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएकाले कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको बताए । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७