ऊर्जामन्त्री खड्काले नियुक्त गरेका सञ्चालकलाई काम गर्न उच्च अदालतको रोक
काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समिति सदस्यमा नियुक्त लक्ष्मण केसीलाई तत्काल कामकाज गर्न रोकेको छ । न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको हो ।
ऊर्जामन्त्री दिपक खड्काले गत २ पुसमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । सो निर्णय बदरको माग गर्दै कञ्चनपुरका जनार्दन जोशीले रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । यसअघि १९ पुसमा उच्च अदालतकै न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।
खड्काले प्राधिकरणको सञ्चालकमा नियुक्त गरेका केसी यातायात इन्जिनियर हुन्। सम्बन्धित क्षेत्रका योग्य व्यक्ति पर्याप्त हुँदाहुँदै असम्बन्धित क्षेत्रका व्यक्तिलाई मन्त्रीले दिएको नियुक्ति बदर हुनुपर्ने माग जोशीले रिटमा गरेका छन् ।