उपसभामुखको हस्ताक्षर दुरुपयोग भएकै हो, स्पष्टीकरणको मौका पाउनु पर्छ : रास्वपा


२०८१ भदौ २६ बुधबार २०:४९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरको हस्ताक्षरको दुरुपयोग भएको स्वीकारेको छ । आज (बुधबार) सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकमा उपसभामुख इन्दिरा रानामगरबारे प्रतिनिधि सभामा प्रश्न उठेको विषयमा पनि छलफल भएको छ ।

तर उपसभामुखविरूद्ध औपचारिक रूपमा हस्ताक्षर दर्ता भएको स्थिति नभएकाले यसलाई अहिले नै निष्कर्ष निकाली हाल्न नहुनेमा सचिवालय सदस्यहरू पुगेका छन् । उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाई दिन लेखेको पत्र विवादमा परेको थियो । 

उपसभामुखले पदीय मर्यादा कायम नराखेको भन्दै उनको आचरणमा प्रश्न उठाएर मंगलबार प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले राजीनामा पनि मागेका थिए । रास्वपाले पनि उपसभामुखले अन्तर्वार्ताका लागि दूतावासलाई हस्ताक्षरसहित अनुरोध पत्र दिनु गलत भएको स्वीकारेको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले सचिवालय बैठकपछि भने, ‘आजको सचिवालय बैठकमा हाम्रो बुझाइ के रह्यो भने लगभग १८ महिना पहिला एउटा पत्रमा उहाँ (उपसभामुख) को हस्ताक्षर देखियो । जुन पत्र सम्बन्धित निकायमा दर्ता पनि भएको छैन, पुगेको पनि छैन ।’

उपसभामुखले अमेरिकी दूतावासमा भिसाका लागि भने अनुरोध पत्र नपठाएको दावी गरे । ‘अन्तर्वार्ताका लागि समय मागेको हो । अन्तर्वार्ताका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्छ । कार्यक्रमको समय धेरै नजिकै पनि आइसकेको थियो, त्यसैले मलगायत टोलीलाई अलि चाँडै तिमी अन्तर्वार्ताको समय दिन सक्छौं कि भनेर एउटा अनुरोध पत्र हस्ताक्षर भयो, जुन गलत भयो,’ झाले भने, ‘त्यो कुनै गल्ती थिएन भनेर हामीले भनेका छैनौं । त्यो दुरूपयोग भएको हो ।’

तर उक्त विषय किन १८ महिना (डेढ बर्ष) सम्म लुकाएर राखिएको भन्ने उनको प्रश्न छ । ‘१८ महिनासम्म त्यो विषय लुकाएर किन राखियो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर राखेको त होला । नयाँ गठबन्धन भएपछि यो सान्दर्भिक भएको हो ?,’ उनले थपे, ‘उहाँले स्पष्टीकरणको मौका पाउनु पर्छ, छानबिन गरिनु पर्छ ।संवैधानिक परिषदमा उहाँहरू आफ्नो उपस्थिति को हुनुपर्छ को हुनु पर्दैन भन्ने कुरा होला । इन्दिरा राना गलत व्यक्ति होइन ।’ अहिलेसम्म औपचारिक रुपमा कुनै कदम सत्तारुढ दलहरूले अघि नसारेको भन्दै अहिले नै औपचारिक धारणा दिन आवश्यक नदेखिएको प्रवक्ता झाले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७