राष्ट्रिय स्वतन्त्र पार्टीको मार्गदर्शक सिद्धान्त ‘सामाजिक लोकतन्त्र’

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिकको पक्षमा रास्वपा


२०८३ असार ९ मंगलबार १९:४० बजे

चितवन : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा सभापति रवि लामिछानेले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा ‘सामाजिक लोकतन्त्र’ लाई अघि सारेका छन्।

महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेस गर्दै उनले रास्वपाको वैचारिक स्पष्टताका साथ आगामी कार्यदिशा सार्वजनिक गरेका हुन्। यसअघि ‘संवैधानिक समाजवाद’ लाई आत्मसात् गर्दै आएको रास्वपाले अब संविधानलाई मात्र ‘वाद’ मान्नुभन्दा व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीचको सन्तुलन मिलाउन सामाजिक लोकतन्त्रलाई अङ्गीकार गर्नु उपयुक्त हुने प्रस्ताव गरेको छ।

सभापति लामिछानेले आफ्नो प्रतिवेदनमा सामाजिक लोकतन्त्र कार्यान्वयनका लागि पाँचवटा मुख्य आधार स्तम्भहरू प्रस्ताव गरेका छन्। जसमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै राज्यले नियमन र सामाजिक सुरक्षाको जिम्मा लिने ‘प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र’, कानुनको शासन स्थापित गर्ने ‘विधि र संस्थागत पद्धति’, नागरिकप्रति उत्तरदायी सरकार, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा राज्यको सक्रिय भूमिका रहने ‘लोककल्याणकारी राज्य’ तथा सबै वर्ग र समुदायको न्यायोचित सहभागिता सुनिश्चित गर्ने ‘समन्यायिक समावेशी समाज’ रहेका छन्।

राजनीतिक सुधारका लागि प्रतिवेदनमा केही साहसिक र महत्त्वपूर्ण प्रस्तावहरू अघि सारिएका छन्। लामिछानेले मुलुकमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ प्रमुख हुनुपर्ने र वर्तमान निर्वाचन प्रणालीलाई परिमार्जन गरी पूर्ण समानुपातिक बनाउनुपर्ने धारणा राखेका छन्।

यसैगरी, राष्ट्रिय सभालाई गैर-दलीय विशेषज्ञहरूको सभा बनाउनुपर्ने र हाल कायम रहेको प्रदेश संरचनाको ‘पुनर्संरचना’ गर्नुपर्ने विषयलाई प्रतिवेदनमा प्राथमिकताका साथ उठाइएको छ।

सरकारमा सहभागी हुँदाका अनुभवहरू समेट्दै लामिछानेले रास्वपाले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि ‘सकारात्मक हस्तक्षेप’ गरेको दाबी गरेका छन्। भुटानी शरणार्थी प्रकरण जस्ता ठुला काण्डहरूको अनुसन्धानले पुराना राजनीतिक दलहरूमा त्रास पैदा गरेको र त्यसकै कारण पुराना दलहरू एक ठाउँमा उभिएको उनको विश्लेषण छ।

परराष्ट्र नीतिका सम्बन्धमा रास्वपाले भारत र चीनसँग सन्तुलित र व्यावहारिक सम्बन्ध राख्ने तथा नेपालको ‘सफ्ट पावर’ का रूपमा रहेको डायस्पोरालाई मुलुकको विकासमा जोड्न ‘विकास कूटनीति’ लाई केन्द्रमा राख्ने नीति लिएको छ। प्रतिवेदनको निष्कर्षमा लामिछानेले रास्वपा अब ‘वैकल्पिक राजनीति’ मात्र नभएर देशको ‘निर्विकल्प राजनीतिक शक्ति’ का रूपमा स्थापित हुने संकल्प व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७