केरा बगानमा दुई बालिका मृत भेटिएको घटना : आमा अझै बेपत्ता, फोन ‘स्वीच अफ’


०६:३९ बजे

मोरङ । मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ ।

बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, अस्मिताले बोक्ने गरेको मोबाइल ‘स्वीच अफ’ भएकाले ‘ट्रयाकिङ’ गर्न समेत कठिनाइ भएको छ । सुन्दरहरैंचा नगरपालिका–७ स्थित केरा बगानभित्र शनिबार दुई बालिका मृत फेला परेका थिए । धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भई सुन्दरहरैंचा–७ मा बस्दै आएका अर्जुन कार्कीका छोरीहरू मृत भेटिएका हुन् ।

एक वर्षीया आयिका कार्कीलाई उनकी दिदी तीन वर्षीया अर्पणाले अँगालो हालेको अवस्थामा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । कार्की परिवार स्थानीय मालती टोलका दिदी सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएको थियो । उनीहरूले नजिकै नयाँ घर बनाउँदै थिए । घरमा पानी हाल्ने विषयमा श्रीमतीसँग सामान्य विवाद भएको अर्जुनले प्रहरीसमक्ष बताएको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

शनिबार साँझ अस्मिता दुई छोरीलाई लिएर घरबाट हिँडेकी थिइन् । घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरिए जस्तो देखिएको प्रहरीले जनाएको छ । शव नजिकै विषादीको बट्टा समेत फेला परेको छ । इप्रका बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले, ‘घटनालाई गहन र सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ ।’ दुई बालिकाको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७