एक डिआइजीसहित ९० प्रहरी अधिकारी एकसाथ अवकाश


०६:३५ बजे

काठमाडौँ । नेपाल प्रहरीका एक डीआइजीसहित ९० अधिकारी ३० वर्षे सेवा हदका कारण एकसाथ अवकाश भएका छन् । एक डिआइजी, ११ एसएसपीसहित करिब ९० जना प्रहरी अधिकारीले एकसाथ अवकाश पाएका हुन् ।

बागमती प्रदेशका प्रमुख डिआइजी विष्णु केसीसहित ११ जना एसएसपीहरू दिनेशराज मैनाली, दिल्लीराज विष्ट, रेवती ढकाल, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवनकुमार श्रेष्ठले अवकाश पाएका छन् । त्यस्तै किसन सिंह थापा, नवीन राई, रवीन्द्र रेग्मी, वीरबहादुर वली र चन्द्रदेव राईले पनि अवकाश पाएका छन् ।

एसपीहरू कृष्ण प्रसाईँ, अवदेश विष्ट, हिराबहादुर पाण्डेले पनि अवकाश पाएका छन् । उनीहरूबाहेक डीएसपी र प्रहरी निरीक्षकहरुले पनि एकैसाथ अवकाश पाएका छन् । उनीहरू सबै २०५१ भदौ १६ मा सहायक प्रहरी निरीक्षकमा भर्ना भएका थिए । 

अवकाश पाउनुअघि ३० वर्षे सेवा हदका कारण आफूहरूले अवकाश पाउन नहुने भन्दै एसएसपी जीवन कुमार श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले भदौ ६ मा उनीहरूको अवकाश रोक्न अन्तरिम आदेश दिएको थियो । तर, शुक्रवार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले आदेश खारेज गरेसँगै उनीहरूले अवकाश पाएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७