निलम्बित क्यासिनो फुकुवा गर्न यस्तोसम्म ‘चलखेल’


२२:३५ बजे
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा ‘दाम’ चढाए जस्तो पनि हुन्छ ‘काम’ भन्ने मनोविज्ञान विकास भइरहेको छ । हुन पनि दाम चढाएकै कारण कतिपयले कानुन विपरितका काम पनि ‘फत्ते’ गराएको देख्न पाइन्छ । अहिले यस्तै गतिविधि पर्यटन विभागमा पनि देखिन आएको छ ।

अहिले पर्यटन विभागमा दुई महिनादेखि बन्द क्यासिनो फेरि खुलाउन चलखेल देखिएको छ । दरबारमार्गस्थित होटल डेला अन्नपूर्णमा रहेको बन्द क्यासिनो प्यालेस फेरि फुकुवा गराई दिन भन्दै तीन भारतीय ब्यापारी बाक्लै धाइरहेको स्रोत बताउँछ । यसरी विभाग धाउनेमा भारतको पञ्जाव घर भएका ऋषव पावा, क्यासिनो प्यालेसका मार्केटिङ निर्देशक गुलाव सिंह र केज मेनेजर गौरव चौपडा रहेका छन् । उनीहरु क्यासिनो प्यालेसको अन्डर ग्राउण्डमा अवैध रूपमा २४ सै घण्टा अनलाइन ‘जुवाखाल’ सञ्चालन गरेको आरोपमा  २०८० माघ १८ गते पक्राउ परेका थिए । गुलाब सिंह भारतको सिद्धार्थका हुन् भने गौरब चोपडा दिल्लीका स्थानीयबासी हुन् ।

‘मोटो बिटा’ को अफरसहित विभाग धाइरहेका भारतीय क्यासिनो सञ्चालक समूहको आग्रहमा पर्यटन विभागका उच्च ओहदाका कर्मचारी समेतले चाख देखाइरहेको स्रोतले जानकारी दिएको छ । निलम्बित क्यासिनो फुकुवा गर्न पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित र केही व्यावसायीहरू लागि परेको स्रोत बताउँछ ।

होटल अन्नपूर्ण विगत चार बर्षदेखि बन्द छ । होटल बन्द रहेको अवस्थामा होटल परिसरमा रहेको क्यासिनो सञ्चालन भइरहेको भन्दै पर्यटन विभागले गत दुई महिनाअघि पत्र पठाउँदै क्यासिनो निलम्बन भएको बन्दको आदेश दियो । अहिले पनि होटल बन्द नै छ । तर बन्द होटलका सञ्चालक मात्रै नभएर क्यासिनोका सञ्चालकहरू समेत निलम्बित क्यासिनो फुकुवा गराउन लागि परेका छन् । आफैले बन्द गराउन पत्र काट्ने पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित समेत क्यासिनो खुलाउन तयार रहेको स्रोतले बताएको छ । 

क्यासिनो निलम्बन फुकुवा गर्न र गराउन ठूलै रकम चलखेल भइरहेको स्रोतले जानकारी दिएको छ । महानिर्देशक पण्डितलाई क्यासिनो र होटलका सञ्चालकहरूले दबाब र प्रलोभन दुबै देखाएर क्यासिनो खुलाउन लागिरहेको स्रोत बताउँछ । बन्द होटल अन्नपूर्ण २०८१ सालसम्म नवीकरण रहेको छ । तर होटल भने चार बर्षदेखि चलेको छैन । होटल बन्द भए पनि क्यासिनो भने चलिरहेको थियो । बन्द होटलमा क्यासिनो सञ्चालन भएको भनी विवाद भएपछि पर्यटन विभागले निलम्बन गर्दै बन्द गर्न निर्देशन दिएको थियो । अहिले नयाँ सत्ता समीकरण बनेसँगै होटल र क्यासिनोका सञ्चालकहरू निलम्बन फुकुवाका लागि तीब्र रुपमा लागिरहेको स्रोत बताउँछ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७